एसियाडमा ईस्पोर्ट्स सहभागी नभएको बारे राखेपको यस्तो विस्तृत प्रस्टोक्ति
पछिल्लो विकसित घटनाक्रम अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औं एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स प्रतिस्पर्धी खेलाडी सहभागी हुन नपाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको सार्वजनिक गरेको छ । राखेपले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एसियाडका लागि प्रारम्भिक नामावली पठाउँदा परिषद्मा आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपाल (इसान) सँगको समन्वयमा ई–स्पोर्ट्स खेलाडीको नाम समावेश गरिएको जनाएको […]

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औं एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स प्रतिस्पर्धी खेलाडी सहभागी हुन नपाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको सार्वजनिक गरेको छ ।
राखेपले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एसियाडका लागि प्रारम्भिक नामावली पठाउँदा परिषद्मा आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपाल (इसान) सँगको समन्वयमा ई–स्पोर्ट्स खेलाडीको नाम समावेश गरिएको जनाएको छ।
यसबीच नेपाल ई–स्पोर्ट्स संघ (नेसा) नामको अर्को संस्थाले पनि गतिविधि सञ्चालन गरिरहेको जानकारी पाएपछि खेलाडीको भविष्यलाई ध्यानमा राख्दै सहभागिताका विषयमा आवश्यक छलफल र समन्वयका लागि राखेपले उक्त संस्थालाई पत्राचार गरेको थियो। यद्यपि निर्धारित समयभित्र नेसा राखेपको सम्पर्कमा नआएको परिषद्को भनाइ छ।
एसियाडका लागि आयोजकले तोकेको समयभित्र नेपाल ओलम्पिक कमिटीमार्फत योग्य खेलाडीको अन्तिम नामावली पठाउनुपर्ने भएपछि सम्बन्धित संघबाट सुझाव पेस भएर आएअनुसार १२ खेलाडीसहित १५ जनाको सहभागिताका लागि नाम सुझाव पेस गरिएको राखेपले सार्वजनिक गरेको छ ।
यद्यपि आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपालले आफूले सुझाव पेस गरेका प्रतिस्पर्धी खेलाडी छनोट हुन नसकेको भन्दै ई–स्पोर्ट्स प्रतिस्पर्धी खेलाडी एसियाडमा सहभागी हुन नसक्ने जानकारी राखेपलाई गराएको थियो । त्यसै पत्रका आधारमा राखेपले एसियाडमा ई–स्पोर्ट्सको सहभागिता नहुने कदम चालेको सार्वजनिक गरेको छ ।
समय सकिएपछि सहभागिताको दाबी
राखेपका अनुसार समन्वयका लागि गरिएको अनुरोधलाई निर्धारित समयसम्म नेसाले बेवास्ता गरेको थियो । यद्यपि समयसीमा सकिएपछि भने आफ्ना प्रतिस्पर्धी खेलाडी छनोट भएको भन्दै एसियाडमा सहभागी गराउनुपर्ने दाबी गरिएको परिषद्को दाबी रहेको छ ।
राखेपले एसियाडका लागि पठाइएको प्रारम्भिक नामावलीमै समावेश नभएका खेलाडीलाई पछि छनोट भएको दाबीका आधारमा सहभागी गराउन नसकिएको स्पष्ट पारेको छ ।
‘प्रतियोगिताका लागि दर्ता गरिएको प्रारम्भिक नामावलीमा नै समावेश नभएका प्रतिस्पर्धी खेलाडी छनोट भएको दाबीलाई परिषद्ले कार्यान्वयन गर्न असमर्थ रहेको’ राखेपले विज्ञप्तिमा उल्लेख गरेको छ।
यथार्थलाई बेवास्ता गरी एकपक्षीय रूपमा भ्रामक समाचार सार्वजनिक गरिएको भन्दै राखेपले त्यसप्रति असहमति जनाएको छ।
२०औं एसियाली खेलकुद जापानमा आगामी सेप्गटेम्बर-अक्टोबरमा सञ्चालन हुँदैछ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।