एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ सामेल
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ । लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको […]

२८ साउन । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ ।
लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको विश्वास छ ।
सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीको रहेको छ ।
आयोजकका अनुसार फ्रेन्चाइजले सुदूरपश्चिमको भलिबल प्रतिभा र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्नेछ । विशेषगरी ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका महिला खेलाडीलाई पहिचान गरी व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य टोलीले लिएको छ ।
स्वामित्व समूहका तर्फबाट सञ्जीप शाहीले सुदूरपश्चिममा भलिबलप्रति ठूलो आकर्षण र प्रतिभा भए पनि महिला भलिबलको व्यावसायिक लिगमा यस क्षेत्रको आफ्नै फ्रेन्चाइज टोली नरहेको जानकारी गराए ।
‘सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ । ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला प्रतिस्पर्धी खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो’ शाहीले भने।
उनका अनुसार सुदूरपश्चिमको पहिचान र क्षमतालाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्ने उद्देश्य रहेको छ ।
एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताइन् ।
‘ईडब्लूभीको सुरुवातदेखि नै सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ,’ उनले भनिन् ।
उनले नयाँ स्वामित्व समूहको आगमनसँगै लिगको राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउँदै सुदूरपश्चिमलाई महिला भलिबलको व्यावसायिक संरचनासँग अझ नजिकबाट जोड्ने बताइन् ।
आयोजकले एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने गृहकार्य भइरहेको जनाएको छ। लिगका सम्बन्धमा आगामी दिनमा थप घोषणा गरिने आयोजकले सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।