इन्डोर सुपर लिग सिजन–२ को च्याम्पियन बन्यो पोखरा वारियर्स, उपाधिसहित ट्रफी कब्जा
पछिल्लो प्रतिवेदन अनुसार, पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को ट्रफी जितेको छ । काठमाडौँस्थित भेलोसिटी एरिनामा शनिबार समापन फाइनलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहको प्रमुख आतिथ्यमा भएको खेलमा पहिले ब्याटिङ

२८ भदौ । पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को ट्रफी जितेको छ ।
काठमाडौँस्थित भेलोसिटी एरिनामा शनिबार समापन फाइनलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहको प्रमुख आतिथ्यमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ७९ रन बनाएको थियो ।
पोखराको इनिङ्स संकटमा रहेका बेला अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याएका थिए । ८० रनको लक्ष्य पछ्याएको बुटवलका ब्याटरले भने लय समात्न सकेनन् । ब्याटिङपछि बलिङमा पनि चम्किएका अमितले तीन विकेट लिएपछि बुटवल लक्ष्यभन्दा १७ रनले पछि पर्दै उपाधिबाट वञ्चित भयो ।
सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो भने कुल ४९ खेल खेलिएका थिए । च्याम्पियन पोखराले पाँच लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो। उपविजेता बुटवलले दुई लाख रुपैयाँसहित पदकमा चित्त बुझायो ।
अलराउन्ड प्रदर्शन गरेका अमित श्रेष्ठ ‘प्लेयर अफ द फाइनल’ घोषित भए । पोखराकै आश्रय बस्नेत उत्कृष्ट ब्याटर बन्दै १५ हजार रुपैयाँ प्राप्त गर्दा काठमाडौं कैलाश किंग्सका गौतम केसी उत्कृष्ट बलर घोषित भए ।
यसबाहेक, पोखराका हरिओम जोशी २५ हजार रुपैयाँसहित प्रतियोगिताकै सर्वोत्कृष्ट प्रतिस्पर्धी खेलाडी बने भने काठमाडौंका सन्तोष रोकाया १० हजार रुपैयाँसहित ‘इमर्जिङ प्लेयर’ घोषित भए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।