आगामी मंसिर १२ गते आयोजना हुने भयो बाह्रौँ संस्करणको प्रतिष्ठित नेपालगन्ज म्याराथन
पछिल्लो विकसित घटनाक्रम अनुसार, धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौड समावेश गरिएको आयोजकले सार्वजनिक गरेको छ । नेपालगन्जको बीपी चोकबाट थालनी हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर महिला तथा पुरुष

२७ असोज । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने तय भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौड समावेश गरिएको आयोजकले सार्वजनिक गरेको छ ।
नेपालगन्जको बीपी चोकबाट थालनी हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर महिला तथा पुरुष खुला, पाँच किलोमिटर महिला तथा पुरुष खुला र पाँच किलोमिटर स्कुले छात्रछात्राको दौड हुनेछ ।
यसबाहेक, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि प्रतियोगितामा समावेश छन्।
रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार ४२ किलोमिटरको पुरुष खुला म्याराथनमा व्यक्तिगत समय सुधार गर्न चाहने महिलालाई पनि विद्युतीय चिप उपलब्ध गराइनेछ। यसबाहेक, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा दौडिन चाहने पुरुष धावकलाई समेत समय मापनका लागि विद्युतीय चिप प्रदान गरिनेछ।
४२ किलोमिटर म्याराथनमा विभिन्न उमेर समूहका धावकको छुट्टै वरियताक्रम निकालिनेछ। ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकलाई पहिलो, दोस्रो र तेस्रो स्थानका आधारमा प्रोत्साहन गरिने गुरुङले बताए।
एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यसपटक पनि निरन्तर रहनेछ। उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि समेत सहजीकरण गरिने आयोजकले जनाएको छ।
विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथनलगायत वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिनेछ। प्रतियोगिताका लागि अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिए। दर्ताका लागि नेपालगन्ज म्याराथनको आधिकारिक वेबसाइट प्रयोग गर्नुपर्नेछ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको म्याराथन
नेपालगन्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा विश्वभरका दौड प्रतियोगितामध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो। सन् २०१५ देखि निरन्तर आयोजना हुँदै आएको म्याराथनले खेलकुदमार्फत शान्ति, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।
एघार वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्ने विस्तृत शान्ति सहमतिपत्र भएको दिन ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि म्याराथन थालनी गरिएको हो। बहुजाति, धर्म र सम्प्रदायका मानिसको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सद्भाव र एकताको सूत्रमा बाँध्ने माध्यमका रूपमा प्रतियोगितालाई अघि बढाइएको आयोजकले जनाएको छ।
नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले दौडलाई सामाजिक गतिविधि र संस्कृतिका रूपमा विकास गर्ने प्रयासको मूल्यांकनस्वरूप अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको बताए।
‘हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौँ,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई ऊर्जा दिनेछ। नेपाललाई विश्वभर चिनाउनेछ।’
नेपालगन्ज म्याराथनसँग जोडिएर हालको अवस्थामा करिब एक दर्जन भगिनी कार्यक्रम सञ्चालनमा छन्। स्कुले बालबालिकालाई जलवायु परिवर्तनका समस्याबारे सचेत गराउने र अनुकूलनका लागि प्रेरित गर्ने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई वर्षदेखि सञ्चालन हुँदै आएका छन्।
यसबाहेक, रातिको समयमा सुरक्षित रूपमा दौडिन सकिने वातावरण बनाउने उद्देश्यले नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन्। नेपाली सम्पदाको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि गत वर्षदेखि काठमाडौं २५ किमी हेरिटेज रेस थालनी गरिएको छ भने कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन पनि आयोजना हुँदै आएको छ।
संवाद र बहसको संस्कृति विकास गर्ने उद्देश्यले नेपालगन्ज डिस्कोर्सअन्तर्गत नेपालगन्ज कन्क्लेभका छ संस्करण समापन भइसकेका छन्। गत वर्ष एम्सको बोर्ड बैठकसँगै नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गरिएको थियो, जसमा १८ देशका प्रतिनिधि सहभागी थिए।
यस वर्षदेखि ‘वन ग्लोबल माइल’ अन्तर्गत कोहलपुर माइल पनि थालनी गरिँदै छ। आयोजकले नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशित गर्दै आएको छ।



पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।