अस्ट्रेलियाको अटोमोबाइल बजारमा इलेक्ट्रिक सवारीको रेकर्ड बिक्री, चिनियाँ ब्रान्डहरूको एकछत्र वर्चस्व
सोसल साउट समाचार कक्षका अनुसार, अगस्ट महिनामा अस्ट्रेलियाका १० सर्वाधिक लोकप्रिय सवारी ब्रान्डको सूचीमा ५ वटा चिनियाँ कम्पनीहरू पर्न सफल भएका छन्। जसमा बिवाइडी, जिडब्लुएम, एमजी, गिली र चेरी रहेका छन्।

१९ भदौ । अस्ट्रेलियामा चिनियाँ गाडीहरूको बढ्दो लोकप्रियतासँगै विद्युतीय सवारी साधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ।
‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसीएआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अगस्ट महिनामा अस्ट्रेलियामा बिक्री भएका कुल नयाँ सवारी साधनमध्ये ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ। यसभन्दा अघिल्लो चरणमा गत जुन महिनामा यस्तो हिस्सा २३.३ प्रतिशत रहेको थियो।
बढ्दो इन्धनको मूल्यका कारण गत मे महिनामा पहिलोपटक विद्युतीय सवारीको बजार हिस्सा २० प्रतिशत नाघेको थियो। त्यसयता एकपछि अर्को गरी चौथो महिना पनि ईभीको बिक्री २० प्रतिशतभन्दा माथि रहन सफल भएको छ। एफसीएआईका अनुसार, सन् २०२५ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा ईभीको समग्र बिक्री १७१ प्रतिशतले बढेको छ।
उत्कृष्ट १० मा ५ चिनियाँ ब्रान्ड
अगस्ट महिनामा अस्ट्रेलियाका १० सर्वाधिक लोकप्रिय सवारी ब्रान्डको सूचीमा ५ वटा चिनियाँ कम्पनीहरू पर्न सफल भएका छन्। जसमा बिवाइडी, जिडब्लुएम, एमजी, गिली र चेरी रहेका छन्।
चिनियाँ ब्रान्ड बिवाइडीले अगस्टमा ८ हजार २३१ वटा नयाँ गाडी बिक्री गर्दै जापानी ब्रान्ड टोयोटापछि दोस्रो स्थान ओगट्न सफल भएको छ। सन् २०२५ को अगस्टमा बिवाइडीको बिक्री ४ हजार ८७७ मात्र थियो।
यसबाहेक, अर्को चिनियाँ ब्रान्ड गिलीले अघिल्लो वर्षको सोही महिनाको (४०१ वटा) तुलनामा एक हजार प्रतिशतभन्दा बढीको छलाङ मार्दै ४ हजार ५०४ वटा गाडी बिक्री गरेको छ।
सन् २०२६ को पहिलो आठ महिना अर्थात् अगस्ट अन्त्यसम्मको तथ्याङ्क हेर्दा, बिवाइडीले अस्ट्रेलियामा कुल ६८ हजार ४२३ वटा गाडी बिक्री गरिसकेको छ। यो सङ्ख्या सन् २०२५ को सोही अवधिको (३२,८३९) तुलनामा १०८ प्रतिशतले बढी हो।
ईभीको यो बढ्दो क्रेजलाई लक्षित गर्दै एफसीएआईका प्रमुख कार्यकारी टोनी वेबरले अस्ट्रेलियाको सवारी बजारमा महत्त्वपूर्ण संरचनात्मक परिवर्तन भइरहेको बताएका छन्।
सिन्ह्वाको सहयोगमा

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।