८ हजार मिटरभन्दा अग्ला थप ६ चुचुरालाई मान्यता दिलाउन नेपालको कसरत, एक वर्षमै नतिजा ल्याउने दाबी
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, विश्वमा ८ हजार मिटरभन्दा अग्ला आधिकारिक स्वीकृति प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी ८ वटा शिखर नेपालमा छन् ।

नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को काठमाडौंमा समापन साधारण सभामा ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई चुलीको आधिकारिक स्वीकृति दिन प्रस्ताव गर्यो ।
विभिन्न ४५ देशका प्रतिनिधि सहभागी सभामा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मि.), कञ्चनजङ्घा मध्य (८,४७३ मि.), ल्होत्से मध्य (८,४१० मि.), ल्होत्से शार (८,४००) र यालुङ काङ पश्चिम (८,०७७ मि.)ले आधिकारिक स्वीकृति पाउनु पर्ने प्रस्ताव राखेको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी उपलब्ध गराए ।
विश्वमा ८ हजार मिटरभन्दा अग्ला आधिकारिक स्वीकृति प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी ८ वटा शिखर नेपालमा छन् ।

चीन (तिब्बत)को सिसापाङ्ग्, पाकिस्तानको केटु, गाशरब्रुम प्रथम, ब्रोड पिक, गाशरब्रुम द्वितिया र नाङ्गा पर्वतले ८ हजार मिटरभन्दा अग्ला शिखरको आधिकारिक स्वीकृति पाएका छन् ।
पाकिस्तानमा ८ हजार मिटर भन्दा अग्लो ब्रोड पिक पूर्व पनि छ । यद्यपि पाकिस्तानले मान्यताका पाउन पहल नगरेको जानकारहरू बताउँछन् ।
सन् १९८६ मा राइनहोल्ड मेसनरले पहिलो पटक आरोहण गरेका ती १४ हिमाललाई युआईएएबाट ८ हजार मिटरभन्दा अग्ला शिखरको आधिकारिक स्वीकृति प्राप्त छ ।
नेपालले भने थप ६ वटा शिखरलाई आधिकारिक स्वीकृति दिइसकेको देखिन्छ ।
प्रस्तावित ती हिमालहरूमा समेत आरोहणका लागि नेपाल सरकारले अनुमति दिँदै आएको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने भन्छन्, ‘हामीले नेपालका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाललाई आधिकारिक स्वीकृति दिएर आरोहण अनुमति र प्रमाणपत्र समेत दिइरहेका छौं ।’
नेपालले थप ६ वटा हिमालको प्रस्ताव युआईएएमा पहिलो पटक राखेको भने होइन । दुई दशक पहिले नै यो प्रस्ताव यूआईएएमा पुगिसकेको जानकारहरू बताउँछन् ।
एनएमएका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा २००५ मा हङकङमा समापन युआईएएको साधारण सभामा आफूले यो विषय उठाएको स्मरण गर्छन् ।
सन् २०१३ को मे पहिलो साता इटलीमा बसेको युआईएएको व्यवस्थापन समितिको छलफल सत्रमा ६ वटा हिमाल चुलीलाई छुट्टै चुलीको आधिकारिक स्वीकृति दिनुपर्ने प्रस्ताव अघि बढेको थियो ।
त्यही वर्षको अक्टोबरमा स्विट्जरल्याडमा समापन युआईएएको साधारण सभामा यो विषय उठे पनि फैसला हुन सकेन ।
नेपाल युआईएएको साधारण सभामा सन् २०१४ मा सगरमाथामा भएको आरोहीबीचको किचलो र २०१५ मा गोर्खा भूकम्पपछि सगरमाथा र लाङटाङमा आएको हिमपहिरोमा केन्द्रित हुनु परेको शेर्पा बताउँछन् ।
नेपाल पर्वतारोहण संघ लगायतले थप हिमालका विषय उठाउँदै आए पनि युआईएए ‘परम्परागत’ १४ वटा हिमालमै अडिग देखिन्छ ।

यद्यपि नेपाल सरकार प्रशासनिक वा अन्य कारणले थप शिखरलाई आधिकारिक स्वीकृति दिने फैसला गर्न पूर्णत: अधिकार समापन भएको युआईएएको माउन्टेनेरिङ कमिसनले २०२३ मा उल्लेख गरेको थियो ।
‘८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या परम्परागत १४ वटा शिखरका रुपमा नै आधिकारिक स्वीकृति दिनुपर्छ भन्ने युआईएएको धारणा छ,’ युआईएए माउन्टेनेरिङ कमिसनको तीन वर्ष पहिलेको निचोड थियो ।
कात्तिक दोस्रो साता काठमाडौंमा समापन साधारण सभापछि युआईएएका पदाधिकारीहरू ती शिखरहरूलाई आधिकारिक स्वीकृति दिने विषयमा सकारात्मक हुने विश्वास आफूले लिएको एनएमएका अध्यक्ष शेर्पा बताउँछन् ।

‘यसभन्दा अघिल्लो चरणमा यो विषय युआईएएलाई मौखिक रुपमा जानकारी गराउँदै आएका थियौं । यसपटक लिखित रुपमै हाम्रो प्रस्ताव राखेका छौं,’ अध्यक्ष शेर्पाले भन्छन्, ‘अध्ययन समितिले तयार पारेको प्रतिवेदन साधारण सभामा प्रस्तुत गर्यौं । युआईएएले यो विषयलाई सकारात्मक रुपमा लिन्छ भन्नेमा विश्वस्त छौं ।’
अध्यक्ष शेर्पाले युआईएएका अधिकारीहरूले प्रस्ताव माउन्टेनेरिङ कमिसनमा राख्न सुझाएको सोसल साउटलाई जानकारी गराए । उनी भन्छन्, ‘लामो र झन्झटिलो भए पनि तपाईंहरू ब्यूरोक्याटिक प्रक्रियाबाटै गुज्रनु पर्ने हुन्छ स्पष्ट पारेका छन् ।’
युआईएएको आगामी साधारण सभामा २०२७ अक्टोबरमा चिलीमा हुँदैछ । त्यतिबेलासम्म यो विषयमा ब्रेक थ्रु हुन सक्ने युआईएका सात विज्ञ सदस्य मध्येका एक आङछिरिङ शेर्पा बताउँछन् ।
एनएमएका पूर्वअध्यक्ष समेत रहेका शेर्पा भन्छन्, ‘थप ६ वटा हिमालको क्राइटेरिया सम्बन्धी दस्तावेज बुझाएका छौं । युआईएएले अर्को वर्षसम्ममा फैसला लिन सक्छ ।’
युआईएए माउन्टेनेरिङ कमिसनले एनएमए र नेपाल सरकारले भने जस्तै ६ वटा शिखर थपिँदा ‘८ हजार मिटर अग्ला हिमाल’ आरोहण अभियानमै उल्लेखनीय परिर्वतन ल्याउन सक्ने उल्लेख गरेको छ ।
यद्यपि पर्वतारोहण समुदायमा यो विषयमा बहस हुन थालेको दुई दशकभन्दा बढी भइसक्दा पनि ती हिमालहरूले छुट्टै शिखरको आधिकारिक स्वीकृति किन पाएका छैनन् ? यसको सरल र एउटै जवाफ छैन ।
युआईएएसँग ‘हिमाल’, ‘शिखर’, ‘चुली’, ‘टुप्पा’, ‘बिन्दु’ वा ‘चुचुरो’ सम्बन्धी स्पष्ट परिभाषा नहुँदा र नेपाल सरकारले निरन्तर फलो अप गर्न नसक्दा नेपाल मात्र होइन विश्व समुदायले लाभ पाउने फैसला हुन नसकेको जानकारहरू बताउँछन् ।

उनीहरूका अनुसार १४ वटा हिमाल आरोहण गरिसकेकाहरू खुलेरै ८ हजार मिटर अग्ला थप हिमाललाई आधिकारिक स्वीकृति दिनै नहुने पक्षमा लागेका छन् ।
यद्यपि क्लासिक १४ वटा हिमाल आरोहणको रेकर्डलाई सम्मान गर्दै थप शिखरको विषय अगाडि बढ्नु पर्ने नेपाल पक्षको दाबी रहेको छ । साधारण सभामा नेपाल सरकारका पूर्व सचिव मधुसुदन अधिकारीले नेतृत्व गरेको समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।
समितिमा सगरमाथाको उचाइ नाप्ने टोलीको नेतृत्व गरेका नापी विभागका उपसचिव खिमलाल गौतम, नेपाल जियोमेटिक्स इन्जिनियरिङ सोसाइटीका अध्यक्ष महेश थापा, आरोहण सम्बन्धी अनुसन्धाताद्वय अनिश दाहाल र थानेश्वर गुरागाईं सदस्य छन् ।
युआईएएले स्थलकृतिक विवरण, ऐतिहासिक तथ्य, स्थानीय समुदायको हित, नेपाल सरकारको चासो, सम्बन्धित हिमालका सांस्कृतिक–आध्यामिक पक्ष, ४ हजार मिटरभन्दा अग्ला आल्प्सका हिमाल वर्गीकरणको पूर्वअनुभवको आधारमा हिमालको वर्गीकरण गर्दै आएको छ ।
जियोमेटिक्स इन्जिनियरिङ सोसाइटीका अध्यक्ष महेश थापा नेपालले प्रस्ताव गरेका ६ वटै शिखर आधिकारिक स्वीकृति पाउनका लागि योग्य रहेको बताउँछन् ।
पर्वतीय प्रमुखता (प्रोमिनेन्स), पर्वतीय पृथकता (आइसोलेसन) र डोमेनेन्स(प्रोमिनेन्स र समुन्द्री सतहदेखि शिखरसम्मकाे उचाइकाे अनुपात) हेर्दा पनि आधिकारिक स्वीकृति नदिनु पर्ने कारण आफूले नदेखेको थापाको धारणा छ ।
आरोहणकै कुरा गर्दा ८ हजार ७७ मिटरको यालुङ काङ पश्चिम बाहेक पाँच वटै शिखर आरोहीले चुमिसकेका छन् ।
स्वीट्जरल्यान्डमा बसोबास गर्दै आएका बेलायती आरोही तथा लेखक एडवर्ड मोर्गनले आफ्नो एउटा लेखमा ६ वटै शिखरले पर्वतारोहणका क्रममा छुट्टै आरोहण लक्ष्यका रुपमा समावेश गर्न पर्याप्त भौगोलिक स्वतन्त्रता राख्ने उल्लेख गरेका छन् ।
अंग्रेजी साप्ताहिक नेपालीटाइम्समा उनले लेखेका छन्, ‘थप पहिचान गरिएका ६ वटा हिमालको प्रोमिनेन्स र भौगोलिक अलगाव फरक फरक छ । यालुङ काङको प्रोमिनेन्स १३५ मिटर रहेकाले यसलाई छुट्टै शिखर मान्ने सबैभन्दा बलियो आधार रहेको छ ।’
यसबाहेक, बाँकी हिमालहरूको प्रोमिनेन्स कञ्चनजङ्घा दक्षिणको ११६ मिटर, कञ्चनजङ्घा मध्यको ६३ मिटर, ल्होत्से शारको ७२, ल्होत्से मध्यको ६५ र यालुङ काङ पश्चिमको करिब ४० मिटर रहेको दुई पटक सगरमाथा आरोहण गरिसकेका नापी विभागका उपसचिव खिमलाल गौतमले जानकारी उपलब्ध गराए ।
‘पन्ध्रौं चुली’ पुस्तकका लेखक समेत रहेका गौतम शिखर, चुली वा हिमाल सम्बन्धी विश्वव्यापी रुपमा स्वीकार्य एउटै परिभाषा नहुँदा त्यसको मारमा नेपाल परेको बताउँछन् ।
पर्यटन विभागका महानिर्देशक लामिछाने पर्वतारोहणमा अग्रणी देशले ती हिमालहरूको मान्यताका लागि तीन वटा विषयमा जोडदिनुपर्ने पर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालले निरन्तर फलोअप, वैज्ञानिक गहन तहकिकात र डेटा भेरिफिकेसनमा तीव्रता दिनु पर्ने देख्छु ।’

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।