१३ हजारमा परीक्षण गर्दा १० प्रतिशत बढीमा उच्च रक्तचाप : बैतडीको स्वास्थ्य सम्बन्धी विशेष विवरण
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उक्त रक्तचापको समस्या देखिएको रहेको तथ्य सार्वजनिक भएको छ।

बैतडी (सोसल साउट) — २७ असार । बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उक्त रक्तचापको समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले गरेको स्वास्थ्य परीक्षण अभियानअन्तर्गत १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ८ हजार १८४ जना महिला र ५ हजार ३४७ जना पुरुष थिए ।
स्वास्थ्य कार्यालय बैतडीले शनिबार जिल्ला अस्पतालको सभाहलमा गरेको अन्तरक्रिया कार्यक्रममा चालु आवको स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्यांक सार्वजनिक गरिएको हो ।
ती परीक्षणका क्रममा सबैभन्दा पनि समस्या उच्च रक्तचापकै देखिएको कार्यालयले सार्वजनिक गरेको छ । जिल्लाभर एक हजार ४१० जनामा उच्च रक्तचाप पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । जुन कुल परीक्षणको १०.४२ प्रतिशत हो ।
यसका साथसाथै, ८२९ जनामा मोटोपन, ५२७ जनामा मधुमेह र ९७ जनामा मिर्गौला रोग पहिचान भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा प्राप्त गरेको तथ्यांकमा देख्न सकिन्छ ।
यस्तै, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार १०३ जना बालबालिकामा गरिएको पोषण अवस्थाको परीक्षणमा ११३ जनामा कडा खालको कुपोषण भेटिएको छ । ५१६ जनामा बालबालिकामा मध्यम खालको कुपोषण भेटिएको उनले जानकारी उपलब्ध गराए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए ।
उनले स्वास्थ्यका सूचकाङ्कमा सुधार हुनु मात्र पर्याप्त नभई नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्नु कार्यालयको मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।