सारङ्गीको धुनमा झल्कियो नेपाली समाज, कर्खा भाकामा पोखियो बाढी प्रभावितको आर्तनाद
पछिल्लो प्रतिवेदन अनुसार, गन्धर्व समुदायको सांस्कृतिक योगदानलाई बुझ्नु भनेको एउटा समुदायको कला बुझ्नु मात्रै होइन, नेपाली समाजले आफ्ना कथा कसरी सुनायो र सम्झनाहरू कसरी जोगायो भन्ने बुझ्नु पनि हो भन्ने कार्यक्रमले बुझाउन खोजेको हो ।

२६ असोज ।
२०८३ साल भदौ १० को दिनमा
कति सपना टुटे हजुर सबै एकैछिनमा
बिहानको टाइम थियो, स्कुल अफिस जाने,
कोहीलाई मेला काममा जाने कोहीलाई खाना खाने
आयो जलप्रलय बगायो हेर
रुने बाहेक केही छैन सम्झेर…।
र्याइँर्याइँ सारङ्गी रेटेर सम्मरबहादुर गायकले कर्खामा भोटेकोशी बाढीको घटनालाई सुनाए । सारङ्गीका धुनहरूमा डुब्दै जीवनको आरोह–अवरोहसँग सात्क्षात्कार गरिरहेका पोखरेली भावुक बने । भोटेकोशी बाढीमा परिवार र आफन्त गुमाएकाहरू सुक्सुकाए ।

गन्धर्व समुदायको परम्परागत संस्कृति र सारङ्गीले धानेको जीवनलाई नजिकबाट नियाले । पोखरेलीले सारङ्गीका धुनहरूमा मान्छेका जन्मदेखि मृत्युसम्मका संस्कार, घटना र संघर्षमय जीवनलाई अनुभूति गर्ने मौका पाए ।

भदौ १० गते पोखरामा आयोजना गर्ने गृहकार्य थियो, ‘गन्धर्व गुञ्जन’ यद्यपि त्यही दिन भोटेकोशी हुँदै त्रिशूलीमा भयानक जलप्रलय आयो र ठूलो जनधनको क्षति भयो । देश नै पीडामा भएका बेला यो कार्यक्रम पनि स्थगित भएर आइतबार घटस्थापनाका दिन राखिएको थियो । आइतबार पनि गोरखामा बूढीगण्डकीमा अर्को भयानक बाढीले ठूलो क्षति पुर्याइरहेको थियो । मानिसहरूले नेपालमा परिरहेको विपत्तिलाई सारङ्गीका धुनहरूसँगै महसुस गरे ।
समयले जन्माएका घटना, समाजले भोगेका दु:ख र मानिसका सुख–दु:खलाई गीतमा उतारेर जनजनसम्म पुर्याउने गन्धर्वहरूको सांस्कृतिक भूमिकालाई प्रज्ञा प्रतिष्ठानले उजागर गरेको छ । गन्धर्वहरूले बसोबास गर्ने पोखराकै बाटुलेचौर जुरुक्क उठेर मञ्चमा आइपुगेको थियो । बाटुलेचौर हुँदै देशका विभिन्न ठाउँमा पुगेका गन्धर्वहरूको संस्कृति, परम्परा र संस्कारलाई ‘कथा सारङ्गी’को पोखिए ।

गन्धर्व कलाकार, सारङ्गीप्रेमी र लोकसंगीतका पारखीका लागि यो दिन मनोरञ्जनको अवसर मात्र बनेन, आफ्नै समाजको मौलिक सांस्कृतिक सम्पदासँग पुन: जोडिने क्षण पनि बन्यो ।

कर्खा मौखिक परम्परामा हुर्किएको कथात्मक गायन हो, जसमा कुनै घटना, पात्र वा परिस्थितिलाई गीतका माध्यमबाट विस्तारपूर्वक प्रस्तुत गर्छ । पुरानादेखि नयाँ पुस्तासम्मले एकसाथ स्वाद लिने अवसर पाए ।

कर्खाको विशेषता हो– यसले घटनालाई तथ्यको विवरणमा मात्रै सीमित राख्दैन, त्यससँग गाँसिएको मानवीय पीडालाई पनि स्वर दिन्छ । त्यही स्वर पोखरा उद्योग वाणिज्य संघको हलमा आइतबार पोखिए ।

नेपाली लोकसंगीतको इतिहासमा झलकमान गन्धर्वको नाम उच्च स्थानमा आउँछ । उनले विभेद र दु:खखका चौघेरो नाघेर आफ्नो नाम रोशन गरे । यद्यपि त्यही लोपोन्मुख समुदायले भने आज पनि समाजमा आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ ।
झलकमानको ‘हे बरै आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत आम नेपालीको बनेको छ । त्यही गीत गुनगुनाउँदै पोखरा मेयर धनराज आचार्यले उद्घाटन गरेको कार्यक्रममा गन्धर्व समुदायका ९० जना कलाकार सारङ्गीसँगै आइतबार ‘गन्धर्व–गुञ्जन’मा समेटिए ।

सारङ्गीमा मंगल धुन बज्यो । मालश्री धुनले दशैं भित्रिएको अनुभूति दिलायो । गोविन्द गायकले पस्किएको गन्धर्वहरूको विशेष प्रस्तुति ‘निर्गुन’मा पारखीहरू डुबे । हर्क गायक, जानुका गायकले गन्धर्वहरूको इतिहास र संघर्ष खोतले । विद्यालय पढ्दै गरेका विद्यार्थीहरूले परम्परागत भजनमा झुमाए ।
सम्मरबहादुरसँगै मनिस गायकले कर्खा र घटना सुनाउँदै मानिसहरूलाई भोटेकोशी र त्यसपछिका बाढीले दिएको पीडामा मुटु नै चरक्क चर्काएको अनुभूति गराए । गन्धर्व समुदायका महिलाहरूले रत्यौली–हँस्यौली प्रस्तुत गरेर फरक स्वाद पस्किए ।

सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइरला, चलचित्रकर्मी माओत्से गुरुङ लगायतले सारङ्गी र गन्धर्वका कथाहरू अझै धेरै लेखिनुपर्ने, भनिनुपर्ने र देखाइदिनुपर्ने महसुस गरेको सुनाए । पोखरका कवि, लेखक, कलाकार र सांरंगी, गीतसंगीत तथा लोकसंस्कृति र लोपोन्मुख समुदायप्रति चिन्ति समुदायले गन्धर्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूलाई हरेक क्षेत्रको मूलधारमा ल्याउनुपर्ने भाव व्यक्त गर्दै निस्किए ।

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त भएपछि साहित्यकार सरस्वती प्रतीक्षाले पहिलो कार्यक्रम मौलिकमात्रै होइन, सिंगो समुदायलाई सम्मान गर्नेगरी ऐतिहासिक गराउने गरी संयोजन गरेकी छिन् । कला, साहित्य, संगीतमा भइरहने परम्परागत कार्यक्रमभन्दा भिन्न स्वाद र मौलिकलाई उनले पस्किएकी छन् । बिगतमा धर्मराज थापाहरूले गन्धर्व समुदायलाई रेडियो नेपालदेखि विभिन्न देशमा पुर्याएर योगदान गरेका थिए ।

गन्धर्व समुदायको सांस्कृतिक योगदानलाई बुझ्नु भनेको एउटा समुदायको कला बुझ्नु मात्रै होइन, नेपाली समाजले आफ्ना कथा कसरी सुनायो र सम्झनाहरू कसरी जोगायो भन्ने बुझ्नु पनि हो भन्ने कार्यक्रमले बुझाउन खोजेको हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।