पत्रकार धरपकडबारे सरकारको स्पष्टीकरण : प्रहरीको आफ्नै कदम, गृहको कुनै निर्देशन थिएन
घटनाक्रमको ताजा विवरण अनुसार, सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षा संयन्त्रले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे ।

सरकारले समाचार कक्षभित्रै प्रवेश गरेर भएको धरपकड सुरक्षा संयन्त्रले आन्तरिक अनुसन्धानका लागि मात्रै भएको विस्तृत प्रस्टोक्ति दिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षा संयन्त्रले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे ।
‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनि उदाहरणका लागि प्रधानमन्त्री आईजीपीको पदत्याग माग्यो वा विभागीय कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर सुरक्षा संयन्त्रले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ प्रवक्ता पोखरेलले भने ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सरकारसँग पूर्ण अनुमति लिएर उक्त कार्य प्रहरीबाट नभएको जिकिर गरे ।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । सुरक्षा संयन्त्रले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने ।
प्रधानमन्त्रीज्यूलाई यसको जानकारी आउनासाथ कोही पनि पत्रकारलाई सोधपुछ गर्नेगरी हिरासतमा नराख्न निर्देशन दिएको समेत उनले जानकारी गराए ।
‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन,’ उनले भने ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।